नेपाल सरकार
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
कृषि बिभाग

जिल्ला कृषि विकास कार्यालय

ललितपुर

About Us

नेपाल एक विकासोन्मुख कृषि प्रधान मुलुक हो । यहांका ६५% जनताहरू कृषि पेशामा आश्रीत रहेका छन् । तसर्थ देशको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको छ । यस जिल्लाको कृषि क्षेत्रको विकासको लागि वि.सं. २०२२ सालमा कृषि विकास शाखाको स्थापना भएको थियो । यस कृषि विकास कार्यालयले कृषि क्षेत्रमा लागेका कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन कृषि विकासकोलागि उन्नत प्रविधी कृषक समक्ष पुर्याउने, उन्नत बिउ विजन, विरुवाहरू बारे जानकारी गराउनुका साथै वितरण गर्ने र कृषि क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने तर्फ सेवा पुर्याउंदै आइरहेको छ । कृषि विकास कार्यालयको स्थापना पश्चात कृषि तर्फ नयां युगको थालनी हुनुका साथै कृषकहरूले कृषि विकासको उपादेयता र महत्व बारे जानकारी हासिल गर्दै गएका छन । यसको फलस्वरूप कृषि क्षेत्रमाक्रमशः विकास हुंदै गैरहेको पाइन्छ । कृषि विकास कार्यालयको स्थापना पश्चात कृषि उत्पादनमा वृद्धि ल्याउन तथा यसको उत्थानका लागि कृषिका उद्देश्यमूलक कार्यक्रमहरू, साधन स्रोतको सुविधा, बालीनाली सम्बन्धी प्रशिक्षण, तालिम गोष्ठी आदि सुविधाहरू कृषकहरूमा पुग्न थाल्यो भने अर्कोतिर कृषकहरूका परम्परागत मनोभावनामा परिवर्तन भई कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वमा क्रमिक वृद्धि भई जीवनस्तरमा पनि प्रभाव पर्न थालेको छ ।

 

यसरी कृषि विकासको परिवर्तित पृष्ठभूमि वोकेका कृषकहरूलाई उन्नत कृषि प्रविधिद्वारा वढी लाभ प्राप्त गर्न सक्षम तुल्याउने उद्देश्य राखी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न सघाउ पुर्याउने कार्यक्रम अनुरूप यस जिल्लाका विभिन्न भौगोलिक क्षेत्रहरूमा ६ वटा सेवा केन्द्र र २ वटा कृषि उपकेन्द्र स्थापना भई कृषकहरूको घरदैलोमा आवश्यक उन्नत कृषि प्रविधि एवं प्राविधिक सेवा प्रदान गरी कृषकहरूलाई उत्प्रेरणा जगाउने कार्यहरू भैरहेको छ ।

कृषि क्षेत्रमा अझ बढी विकास एवं उत्थान गर्ने उद्देश्य अनुरूप कृषि विकास मन्त्रालय अन्तर्गत छरिएर रहेका कृषिका निकायहरूलाई एकै छानामुनी राख्ने भन्ने मिति २०४९ श्रावण १ गतेको निर्णयबाट जिल्लामा रहेका कृषि विकास शाखा, पशु स्वास्थ्य तथा पशु विकास शाखा र वागवानी विकास शाखा समेत गरि एकिकृत रूपमा जिल्ला कृषि विकास कार्यालय स्थापना भएको थियो । यसरी एकै छानामुनी रहेको जिल्ला कृषि विकास कार्यालयलाई नेपाल सरकारको निर्णयबाट वि.सं. २०५२ श्रावण १ गतेदेखि जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय गरी दुईवटा कार्यालयमा विभाजन गरिएको थियो । कृषि विकास कार्यक्रम एक समन्वयात्मक कार्यक्रम भएकोले कृषि विकाससंग सम्बन्धित विभिन्न निकायहरू संग समन्वय राखी कृषक वर्गमा सेवा पुर्याउने भावनाले समर्पित भई निम्न लिखित उद्देश्यहरू परिपूर्तिका लागि कृषि विकास कार्यक्रमहरूसञ्चालन हुंदै आएका छन् ।

 

उद्देश्य

 

दीर्घकालीन उद्देश्य

  • खाद्यवस्तुको वढ्दो आन्तरिक माग पूरा गर्न कृषि प्रसारको माध्यमबाट उत्पादन र उत्पादकत्व वढाई आत्मनिर्भर बनाउने ।

  • निम्न आय भएका वहुसंख्यक साना किसानहरूका लागि कृषि क्षेत्रका आयमूलक उत्पादनशिल र स्वरोजगारका अवसरहरू वृद्धि गर्ने ।

  • कृषिजन्य उत्पादनको संरक्षण, प्रशोधन तथा उपयुक्त बजार व्यवस्था, वितरण प्रणालीको सुधार गर्ने ।

  • वातावरणीय सन्तुलन कायम राख्दै कृषक वर्गको तुलनात्मक लाभ र न्यायोचित वितरणको आधारमा दिगो कृषि विकासको कार्यमा सहयोग पुर्याउने ।

  • निर्वाहमुखी कृषि पद्धतीलाई व्यवसायिकरण तर्फ उन्मुख गराउने ।

  • पौष्टिक खाद्य वस्तुको उत्पादन र सन्तुलित उपयोगमा बृद्धि ल्याई जनताको स्वास्थ्यमा सुधार ल्याउने ।

     

 अल्पकालीन उद्देश्य

  • कृषि प्रणाली तथा विचारमा परिवर्तन ल्याउने ।

  • कृषक समक्ष नयां नयां उत्पादनका प्रविधि, ज्ञान, शीप तथा साधन सम्बन्धी जानकारी पुर्याउने ।

  • कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि ल्याउने ।

  • कृषक समूह मार्फत कृषिका सम्पूर्ण कार्यक्रमहरू प्रभावकारी ढंगले सञ्चालन गर्ने ।

  • कृषक समूहहरूलाई सहकारी संस्थामा परिणत गर्दै लैजान प्रचार प्रसार तथा अभिप्रेरित गर्ने ।

  • कृषि अनुसन्धानबाट पत्ता लगाईएका उन्नत प्रविधिहरू कृषक समक्ष पुर्याउने र कृषकको प्रतिक्रिया अनुसन्धान समक्ष पुर्याउने ।

  • सम्भाव्यताको आधारमा पकेट क्षेत्र छनौट गरी खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीका व्यावसायिक कार्यक्रमहरूलाई प्रोत्साहन दिने ।

  • ग्रामीण कृषि कार्यकर्ताहरूलाई स्थानीय स्तरमा कृषिको नेतृत्व गर्न सक्ने प्रगतिशिल अगुवा कृषक तयार गर्ने ।

  • साना सिंचाईको माध्यमबाट प्रति इकाई क्षेत्रफलको उत्पादकत्व बढाउनुका साथै बाली सघनतामा वृद्धि गर्ने आदि ।

  News and Events